देवानगञ्जको अवस्था नियन्त्रणमा, नेपाली सेना परिचालनपछि सुरक्षा स्थिति सामान्य बन्दै

  • प्रकाशित मिति : २०८३ श्रावण १३, बुधबार
  • नेपाल टेल संवाददाता

सुनसरीको देवानगञ्ज गाउँपालिका–४ स्थित बजार क्षेत्रको अवस्था नियन्त्रणमा आएको छ। दुई पक्षबीच भएको झडपपछि तनावग्रस्त बनेको क्षेत्रमा नेपाली सेनाको भगवतीदल गण परिचालन गरिएपछि सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको हो।

मंगलबार साँझ करिब ७ः३० बजेदेखि सुरु भएको झडपका क्रममा बजार क्षेत्रमा तोडफोड र आगजनीका घटना भएका थिए। घटनापछि स्थानीयवासी त्रसित बनेका थिए भने बजार क्षेत्र केही समय तनावग्रस्त बनेको थियो।



नेपाली सेनाका अनुसार भगवतीदल गणको टोली घटनास्थलमा पुगेर सुरक्षा जिम्मेवारी सम्हालेपछि अवस्था नियन्त्रणमा आएको छ। हाल बजार क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षा निगरानी जारी छ।

घटनाको प्रारम्भिक चरणमा सुरक्षा निकायको उपस्थिति पर्याप्त नभएको भन्दै स्थानीयले गुनासो गरेका थिए। त्यसपछि नेपाली सेना परिचालन गरिएसँगै बजार क्षेत्रको सुरक्षा अवस्था सुधार हुँदै गएको जनाइएको छ।

यसैबीच, सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन इटहरीदेखि कोशी ब्यारेजसम्मको पूर्व–पश्चिम राजमार्गमा नेपाली सेनाले बख्तरबन्द सवारीसाधनमार्फत नियमित गस्ती सञ्चालन गरेको जनाएको छ।

सेनाका अनुसार उक्त राजमार्गको सुरक्षा अवस्था सामान्य रहेको छ भने सर्वसाधारणको सुरक्षित आवागमन सुनिश्चित गर्न उच्च सतर्कता अपनाइएको छ।